“टाढा टाढा जानु छ साथी”

“टाढा टाढा जानु छ साथी एक फेर हाँसिदेउ”

दिन महिना वर्ष गर्दै कहिले जुनी बित्छ थाहै हुँदैन। यो माथिको गीत सुनेर त्यसमा भुलेको पनि एक जुग नै बितेछ। स्कुल मा पढेको खेलेको हिजो जस्तै लाग्छ। साथीहरुका छोरा छोरी ले स्कुल पढी सक्न लागे। अचम्म छ समय कसरी बित्छ। क्याम्पस पढ्दाको फोटो हेर्दा आफैंलाई चिनियेन भने पनि सामान्य होला अब त। अरु बेला त वास्तै हुँदैन। तर जब कुनै पुरानो गीत पुरानो सिनेमा पुरानो कुरा सुन्छु देख्छु, अनि सोच्छु यो त मैले एस एल सी दिइ सके पछिको सोह्रौं सत्रौं वर्ष। ओहो फेरी एक पटक एस एल सी दिने उमेर भएछ।

स्कुल मा शिखर ले “समय पंछी हो ” भन्ने गीत गाएको पनि धेरै दिन भए जस्तो लाग्दैन। तर त्यो त एस एल सी भन्दा पनि ४ – ५ वर्ष अगाढी को कुरा हो। साँच्चै समय “बाँधिएर बाँधिदैन”।

जिन्दगी को गोरेटो मा हिंड्दा हिंड्दै धेरै कुरा पाइयो , धेरै रमाइयो , कति कुरा मन परेनन् पनि। …। अझै जिन्दगी बाँचिन्छ , अझै हाँसिन्छ। अनि बेला बेला मा यस्तै गरी सोचिन्छ – कोहि भनेर गए, कोहि नभनी गए, धेरै जना टाढा गए। कहिले भनेर गएँ , कहिले नभनी गएँ, म पनि धेरै ठाउं बाट टाढा गएँ। अब त्यो स्कुल जाने बाटोमा मैले कहिले साइकल कुदाउँछु होला ? अब म कहिले विकल विवेक जुना सँग भेटाभेटि लुकामारी खेल्छु होला ? कोपिला चारु सँग तिहार मा भैलो अब कहिले खेल्छु होला ? कलेज मा किताब भित्र कमिक्स राखेर पनि फेरी कहिले पढ्छु होला ? दशैं आएको छ अहिले। म टीका लाउन लामो कच्ची बाटोमा हिंडेर पथ्थरभिटटा कहिले जान्छु होला ? त्यहाँ त बाटो पनि पक्कि छ अब ।

हुन त समय संगै परिवर्तन हरु हुन्छन नै – अनि जीवन झन् झन् रमाइलो हुँदै गयो भने त अरु झन् के खोज्नु ? तर कतै न कतैबाट कसै न कसैबाट टाढा त भईन्छ नै।

To read more of Tapadipti’s blog post, visit http://tapadipti.wordpress.com


If you like the posts here, Like Nepali Moms in Facebook and get regular updates.